काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले सबैबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
सरकारले सम्पत्ति शुद्धीकरणमा उनीमाथि समेत अनुसन्धान अघि बढाएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अनुसन्धान स्वतन्त्र हिसाबले अघि बढ्नुपर्ने बताएका हुन् । ”कहीँ कतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले अनुसन्धान होस्,” उनले भने ।
सरकारले १०० कार्यसूची सार्वजनिक गर्दै पहिलो चरणमा २०६२/२०६३ यता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने भनेको थियो । त्यस अनुसार पूर्वप्रधानमन्त्री त्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो ।
नेकपाको संसदीय दलले प्रचण्डलाई नेता चयन गरेको छ । नेकपाले आज मात्रै राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई अभिमुखीकरण तालिम दिएको थियो । नेकपाले आजै राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई अभिमुखीकरण तालिम पनि दिएको छ ।








