श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधिसभाको पहिलो बैठक कहिले बोलाइने भन्नेबारे प्रश्न उठाएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘सदनको पहिलो बैठक कहिले बोलाउने ? जनताका प्रश्नहरूदेखि डराएर किन भाग्ने ? खोइ विधि ?’
तर, प्रतिनिधिसभा निर्वाचनबाट सहज बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले अझै संघीय संसद्को अधिवेशन आह्वान गरेको छैन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित एकल बहुमतमा छ ।
संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।
फागुन २१ मा भएको निर्वाचनको अन्तिम नतिजा चैत ५ मा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको थियो ।
त्यसैले वैशाख ५ भित्र अधिवेशन बोलाउनु कानुनी बाध्यता हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अहिलेसम्म सरकारतर्फबाट कुनै जानकारी आएको छैन ।
राष्ट्रपति कार्यालयले पनि सिफारिस प्राप्त नभएको जनाएको छ ।
पहिलो बैठकपछि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ ।
संविधानले सभामुख र उपसभामुख फरक पार्टी र उपसभामुखमा महिला सांसद हुनुपर्ने प्रावधान गरेको छ ।
सभामुखमा रास्वपा उपसभापति डिपी अर्यालको नाम चर्चा छ ।
उपसभामुख प्रचण्ड नेतृत्वको नेकपालाई दिने आन्तरिक तयारी रहेको छ ।
प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेस ३८, एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र उम्मेदवार १ सांसद छन् ।







