काठमाडौं- इजरायल, अमेरिका र इरानबीच युद्ध प्रारम्भ भएसँगै विश्व अर्थतन्त्रमा नयाँ कम्पन देखिएको छ। यसको सबैभन्दा ठूलो असर कच्चा तेलको बजारमा देखिएको छ ।
केही हप्ताअघि मात्र प्रति ब्यारेल ७३ डलर रहेको ब्रेन्ट क्रुड अहिले मार्च ३१ सम्म आइपुग्दा करिब ११७ डलर पुगेको छ। यो उछालले ऊर्जा बजारलाई मात्र होइन, विश्वभरका सामान्य उपभोक्ताको दैनिक जीवनलाई समेत प्रभावित पार्न थालेको छ ।
ऊर्जाको थोक मूल्य बढेसँगै यसको असर सिधै पेट्रोल पम्पहरूमा देखिन थालेको छ। अमेरिकामा युद्ध प्रारम्भ भए यता पेट्रोलको औसत मूल्य करिब १ डलरले बढेर अहिले ४ डलर प्रति ग्यालन नाघेको छ-यो पछिल्ला चार वर्षकै उच्च स्तर हो । बेलायतमा पेट्रोलको मूल्य १४ प्रतिशतले बढ्दा डिजेलको मूल्य झन् तीव्र रूपमा २७ प्रतिशतले उकालो लागेको छ। यसले यातायातदेखि उद्योगसम्म व्यापक असर पारिरहेको छ ।
श्रीलंका र बंगलादेशजस्ता देशहरूले इन्धन अभावका कारण राशनिङ प्रणाली लागू गर्न थालेका छन्। युरोपमा पनि स्थिति गम्भीर बन्दै गएको छ-स्लोभेनिया यस्तो कदम चाल्ने पहिलो युरोपेली संघ सदस्य राष्ट्र बनेको छ। बढ्दो मूल्यलाई नियन्त्रण गर्न अष्ट्रेलियाले तीन महिनाका लागि इन्धन कर आधा गरेको छ। त्यसैगरी, निजी सवारी घटाउन दुई राज्यमा अस्थायी रूपमा निःशुल्क सार्वजनिक यातायात सेवा पनि प्रारम्भरिएको छ ।
युद्ध केवल सीमामा मात्र सीमित हुँदैन-यसको असर विश्व बजार हुँदै प्रत्येक घरसम्म पुग्छ। अहिलेको तेल संकटले विश्व अर्थतन्त्रलाई नयाँ चुनौती दिइरहेको छ, जसको प्रभाव अझै गहिरो हुने संकेत देखिएको छ।








