काठमाडौं । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) घटेको छ । गत महिनाको तुलानामा झन्डै १० अर्ब रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, फागुन महिनामा एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि, माघ महिनामा एक खर्ब ९८ अर्ब ८ करोड रेमिट्यान्स भित्रिएको थियो ।

केन्द्रीय बैंकका अनुसार, आठ महिनामा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको आठ महिनामा ९.५ प्रतिशतले बढेको थियो । ०८२ फागुन महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ८८ अर्ब ६४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष ७१ प्रतिशतले बढेको थियो ।

यस्तै, चालु आवको ८ महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको संख्या दुई लाख७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ५१ हजार ९८५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १७ हजार ६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।