काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ। यस वार्षिकोत्सवको अवसरमा कुमारी बैङ्क लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयर धनी, नियामक निकाय तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरूको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ। कुमारी बैङ्क लिमिटेड देशकै अग्रणी बैङ्क बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ।

कुमारी बैङ्कको २५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँ, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। यसले स्थानीय स्तरमा रक्त बैङ्कका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ।

वार्षिकोत्सवकै अवसरमा बैङ्कले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेसभुसा” पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ। यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्‍याएको छ। विविध सांस्कृतिक परम्परालाई अङ्गाल्दै, बैङ्कले आफ्नो कार्य शक्तिमा समावेशिता र सम्मानलाई बढवा दिएको छ। यस पहल मार्फत, बैङ्कले “सबैका लागि साधैका लागि” भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढवा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ।

यसका साथै बैङ्कले आफ्ना सम्पूर्ण शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू देशै भरि वर्षै भरि गर्न “समुदायका लागि कुमारी बैङ्क” कार्यक्रमको थालनी गरेको छ। यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरूको जीवन स्तर सहज बनाउन बैङ्कले आफ्ना सम्पूर्ण शाखाहरूबाट निरन्तर प्रयास गर्ने बैङ्कले जनाएको छ।

साथै, बैङ्कले आफ्नो रजत जयन्तीको अवसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरूले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन्।

विगत २५ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना तिस लाखभन्दा बढी ग्राहकवर्गहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।