जनकपुरधाम । जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अनुचित लाभ लिने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज (शुक्रबार) दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले गौर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिका-२ का २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका-७ का २४ वर्षीय बब्लु प्रसाद यादव र ३० वर्षीय श्याम बिहारी यादव रहेका छन् । त्यसैगरी, परोहा नगरपालिका-७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका-८ का ६० वर्षीय राजेन्द्र राउत बरैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उनीहरूले गौरस्थित बसपार्क, जिल्ला अदालत र मालपोत कार्यालय लगायतका सरकारी कार्यालयहरूमा पुग्ने सेवाग्राहीलाई ‘काम छिटो गरिदिन्छु’ भन्दै तानातान गर्ने, झन्झट दिने र हैरानी पार्ने गरेका थिए ।

सेवाग्राहीका कागजातहरू आफैँ बोकेर विभिन्न फाँटहरूमा जाने र त्यसबापत अवैध रूपमा रकम (अनुचित लाभ) असुल्ने गरेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।