काठमाडौँ । बडादशैँका सुरुवाती दिनहरूमा प्रायः सुनसान बनेको काठमाडौँ उपत्यका विजयादशमीको दिन शुभसाइतमा टीका र जमरा ग्रहण गरेपछि विस्तारै आफ्नो पुरानै लयमा फर्किन थालेको छ। मान्यजन तथा आफन्तको हातबाट आशिष लिन निस्कने सर्वसाधारणको बढ्दो आवतजावतसँगै उपत्यकाका मुख्य सडक तथा चोकहरूमा सवारी साधनको चाप ह्वात्तै बढेको छ।

फूलपाती, महाअष्टमी र महानवमीका दिनहरूमा प्रायः रित्ता देखिने चक्रपथ र भित्री सडकहरूमा टीकाको साइतपश्चात् सार्वजनिक तथा निजी सवारी साधनको बाक्लो उपस्थिति देखिन थालेको छ। विशेषगरी सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको भीडभाड बढेसँगै उपत्यकामा दशैँको रौनक र चहलपहल पुनः चुलिएको छ।