दमौली (तनहुँ) । दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरूले भने स्वदेशमानै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका छन् ।
व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका छन् । तिहार नजिकिँदै गर्दा सिमलटारको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुई युवालाई आफ्नो मिहिनेतको प्रतिफल बजारमा पुर्याउने चाहना छ । उनीहरूको उद्देश्य फूल बेचेर आम्दानी गर्नुमा मात्रै सीमित छैन, स्थानीय उत्पादनको प्रयोग बढाउनु र बाहिरबाट आउने फूलको निर्भरता घटाउन सन्देश दिनु पनि हो ।








