भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको दैनिक सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ । बुधबार केही क्षेत्रमा पीएम २।५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरले जनाएको छ ।

दीपावली नजिकिँदै गर्दा आतसबाजीका कारण प्रदूषण थप बढ्ने आशङ्का गरिएको छ । प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन र निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि त्यसको तीन दिनपछि नै प्रदूषण झन् बढेको हो । सर्वोच्च अदालतले दीपावलीमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ ।