काठमाडाैं,

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालयका कर्मचारीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बाेल्दै उनले सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालयका कर्मचारी र शिक्षकहरूसँग विगतमा गरिएका सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गर्न नहुने बताए ।

विद्यालयका कर्मचारीहरू लेखापाल र कार्यालय सहयोगीको सेवा सुविधा खरदार सरह हुनुपर्ने माग गर्दै आइरहेको बताउँदै उनले भने, ‘शिक्षक महासंघसँग २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो । त्यसैगरी २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यस प्रकारका समस्याहरू समाधान गर्न सरकारको तर्फबाट प्रतिबद्धता गरिएको थियो । आजसम्म ती समस्याहरू हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठ्दै गर्दा पनि शिक्षकका समस्याहरू हल नहुनु गम्भीर विषय हो ।’