काठमाडाैं,
जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा बन्द गराउनु सकारात्मक नभएकाे टिप्पणी गरेका छन्।
उनले भने ‘सिनेमा मनोरञ्जनको साधन हो । सिनेमाले मनोरञ्जनका साथ ज्ञान पनि दिन्छ । हिन्दी सिनेमा विश्वमै उत्कृष्ट छ । तथ्यले पनि भन्छ, काठमाडौंका दर्शकले नेपालीपछि हिन्दी च्यानल, हिन्दी टीभी सिरियल, हिन्दी सिनेमा बढी रुचाउँछन् । आदिपुरुषले गलत तथ्य प्रस्तुत गरेको छ भनेर भारतले स्विकारिसकेको अवस्थामा हिन्दी सिनेमा रोक्नु पूरै दादागिरी मात्र हो । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्नुस् । दर्शकको मनको सम्मान नगर्नु सनक मात्र हो । अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । कानुनमाथि कोही छैन । बालेनजी को हो र ?’
ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको पनि उनले दोहोर्याए । उनले भने, ‘संविधानमा कोरिएको नक्सा नै नेपालको नक्सा हो । अरु नक्सा टाँग्नु बालेनको बालापन हो । छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु खेदजनक छ ।’