काठमाडाैं, १८ असार
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् ।
आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टबीचको एकताले कांग्रेस तरंगित हुनु नपर्ने बताएका हुन् ।
कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताए । कांग्रेससँग मिलेर नै गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजाने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको पुनः स्वीकार गरे । गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ ।