काठमाडाैं,२० असार
काठमाडाैं महानगरपालिकाकाे नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रमा नेपाली कांग्रेसको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।
महामन्त्री थापाले सोमबार एक कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका थिए । थापाको भनाइप्रति कटाक्ष गर्दै मेयर शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै काठमाडौँ महानगरका विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेस पार्टीको भातृ संगठन नभएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्,‘माननीय गगन थापा ज्यू, दलको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नुभयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भने पछि, काठमाडौँ महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ,’ उनले भनेका छन्, ‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यू ।’








