काठमाडाैं, २१ असार

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् ।

एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् ।

गौतमले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर वृक्षारोपण गरेको र १० वटा सावेल समेत उपहारस्वरुप दिएको उल्लेख गरेकी छिन् । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि साम्पाङ प्रेरणाको स्रोत भएको उनको भनाइ छ ।

दलको सक्रिय राजनीति गर्नेहरुलाई उनले एकचोटी धरान पुगेर मेयर हर्कको काम हेर्न समेत सुझाएकी छिन् । सामाजिक कामको सिलसिलामा धरान पुगेको उल्लेख गर्दै गौतमले आगामी दिन समाजसेवामा नै सक्रिय रहने बताएकी छिन् ।