काठमाडाैं,२१ असार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भट्टराईविरुद्ध मुद्दा दर्ता गरेको हो । ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट  गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस  लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो र कैद सजायको मागदावी लिएर विशेषमा मुद्दा दायर गरिएको हो ।