काठमाडाैं, ४ साउन

कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन्।

बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा थापाले गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाए।

“कांग्रेस झापा सभापतिलाई हराउने काम उहाँले गर्नुभएको छ । चुनावको मुखमा भागेर अष्ट्रेलिया गएर बस्नुभयो । चुनाव सकिएपछि नेपाल फर्किनुभएको छ,” उनले भने, “चुनावका बेलामा गठबन्धनका उमेदवारलाई भोट नदेऊ, झापाका सभापति देउमान थेवेलाई भोट नदेऊ भनेर उहाँले फोन गरेको कांग्रेसका कार्यकर्ताको मोबाइलमा रेकर्ड छ । पार्टी संकटमा हुँदा भागेर जाने, अवसरमा आउने ठूला कुरा गर्ने ?”

बुधबारको बैठकमा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेका थिए । त्यसपछि बिहीबार मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन् । त्यस्तै थापाले केशव बुढाथाेकीलाइ एमालेका हिक्मत कार्कीलाइ मुख्यमन्त्री मान्न चुनाैती दिएका छन्।