काठमाडाैं, ५ साउन
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।
गृहमन्त्री श्रेष्ठले एक क्वीन्टल सुन तस्करी प्रकरणबारे जवाफदही भएर छानविन गर्न राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भईसकेको जनाउँदै श्रेष्ठको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो भन्दै थापाले प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्रायः सधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु। तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोवाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ। त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु। प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा शुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुईदुई पटक शरीर छामछुम पनि गर्छन !
यो सबै देखाउन र लोक रिझाइका लागि गर्ने गरिएको हो तरु एक क्वीन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँचपरीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो?
यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बन र राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो। नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टवाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनैसक्दैन।जिम्मेवार व्यक्ति स्वयंले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ- तपाईको कार्यकालमा कति क्वीन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो? अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त? अब राजिनामा दिएर छानविनलाई सघाउनुस, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन!








