काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूले आयकर नतिरेको भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताउनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले मेडिकल कलेजको आयकर दाखिलाका लागि भन्दै १५ दिनको समय दिएर सूचना प्रकाशन गरेसँगै प्रसाईँले सरकारले पनि आफूहरूलाई समयमा पैसा दिएको भए समस्या नहुने बताउनुभयो ।
बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर आफूले समय समयमा तिरिरहेको तर आफ्नो मेडिकल कलेजलाई एलवाई दिएर पनि सञ्चालन अनुमति नदिएकोमा प्रसाईँले आक्रोश पोख्नु भयो । अझ अस्पतालमा उपचार गरे बापतको बिमाको रकम सरकारले समयमा नतिरेको प्रति लक्षित गर्दै उहाँले सरकारले आफूलाई समयमा पैसा दिए आफूले पनि सरकारलाई दिनु पर्ने पैसा समयमै दिन सक्ने बताउनुभयो ।
उहाँले आफ्नो मेडिकल कलेजले महिना महिनामा कर दाखिला गरिरहेको पनि बताउनुभयो ।
‘करको पैसा महिनै पिच्छे बुझाउने गरेको छ, सरकार मेडिकल कलेज खोल भनेर एलवाइ दिने तर सम्बोधन नदिन गर्छे, अनि हामीलाई बिमा गरेका बिरामीको उपचार गरे बापतको पैसा पनि समयमै दिँदैन, सरकारले चाहिँ ढिला गर्न हुने हाम्रोचाँही केही समय ढिला हुनै नहुने होर ? प्रसाईँको भनाई थियो ।
प्रसाईँले सरकारले समयमा कर नबुझाए बापत व्यक्तिहरूलाई जरिवाना गराउने गरे पनि सरकारले अस्पताललाई रकम दिँदा ढिला गर्दा कुनै ब्याज वा जरिवाना नदिनु कत्तिको न्याय सङ्गत हो भनी प्रश्न गर्नुभयो ।