काठमाण्डाैँ,

वीरगञ्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो।

महानगरकाे टाेलिले विरगञ्जकाे बाइपास सडकखण्ड अन्तर्गत  नगवाकाे वैष्णवी मन्दिर नजिकै राँगा , भैँसीकाे सडेकाे हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चाैरसियालाई नियन्त्रणमा लिएर ५० हजार जरिवाना गरेकाे हाे।

महानगरले यसअघि वीरगन्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिबाना गरेको थियो।

महानगरपालिकाले चार महिना यता सडक, पेटी र नालामा फोहोर फाल्ने ३ सय ९० जनालाई कारबाही गरी ९ लाख ६० हजार भन्दा बढि जरिबाना असुल गरिसकेको छ।