काठमाडाैँ,
सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताए ।
‘यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’
भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माको भनाइ छ ।
सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभाष रहेको पनि शर्माले बताए । पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्याउनुपर्ने पनि उनको आग्रह थियो ।
उनले भने, ‘अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको छ । अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्नका लागि ५ वर्षको हदम्याद राखिएको छ । यो विरोधाभाषपूर्ण छ ।’