काठमाडाैं,

वैदेशिक राेजगारीका क्रममा स्वीटजरल्याण्ड पठाइदिने भन्दै ठग्दै आएकी एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल बाँकेको कोहलपुर बस्दै आएकी ४६ वर्षीया पार्वती रहेकी छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज काठमाडौँको गोंगबुबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

उनले बैदेशिक राेजगारीमा स्विट्जरल्यण्ड पठाइदिने र त्यहाँकाे सुपरमार्केटमा काम लगाइदिने प्रलाेभनमा ठगेकी थिइन्। त्यहाँ पुग्न सात लाख २० हजार रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरी सात लाख २० हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

सम्पर्कविहिन भएपछि पीडित प्रहरीकहाँ पुगेका थिए। प्रहरीले पक्राउ परेकी थापालाई वैदेशिक रोजगार विभागलाई बुझाएको छ।