१ असार, काठमाडाैं
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद्मा सांसदले उठाएका एजेन्डा र योजनाको सुनुवाइ नहुने भए सदनमा आएर छलफल गर्नु र बोल्नुको कुनै अर्थ नरहेको बताएका छन्।
उनले भने ‘बजेट वियनोजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय धाउँदा–धाउँदा वाक्क हुनुपर्यो । एउटा योजना पार्न मन्त्रालयमा मन्त्री, सचिव, सहसचिव र अधिकृतका पछि लाग्दा–लाग्दा सांसदको जुत्ताको तलुवा खिइन्छ, स्वाभिमान भन्ने कतै रहँदैन, तर हात लाग्यो शून्य,’ घिमिरेले अघि भने, ‘तर अब त अत्ति भयो, यसरी न सरकार चल्छ, न पार्टी । यदि अब पनि यस्तै हो भने अब संसद्मा हाम्रो कुनै भूमिका छैन । हामीलाई भोट हाल्ने बेला मात्रै बोलाए हुन्छ ।’
उक्त बैठकमा बाेल्दै सांसद घिमिरेले भने, ‘तपाईंहरू हामीजस्ता सांसदहरू धेरैले चुनाव जितेर आएकै कारण प्रधानमन्त्री, मन्त्री हुनुभएको हो, यो नबिर्सिनुहोला । तपाईंहरू एक्लै जितेको भरले यो स्थानमा पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै चुनाव जितेर आउँछु, फेरि मन्त्री बन्छु भनेर सोच्नुभएको छ भने त्यो बेलैमा त्याग्नुभए हुन्छ ।’यस्तै उनले एउटा सांसदको सामान्यतः चार वटा भूमिका हुने, तर ती सबै भूमिकाबाट सांसदलाई अलग गर्ने काम भएको बताए।








