४ असार, काठमाडौं

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् ।

पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए । उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ ।

घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए ।

मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो । घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकप्टरको आवस्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उनको भनाइ छ।

शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन ।मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ ।