काठमाडाैं,४ साउन

त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको करिब १०० किलोग्राम सुनमा आफ्नो संलग्नता नरहेको व्यवसायी दीपक मल्होत्राले भनेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले बरामद सुनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन् । उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए।

बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् । उनले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।