चितवन:- २०८२/०४/०९

चितवनमा नयाँ खुल्ने उद्योगको तुलनामा लगत कट्टा (बन्द) हुने उद्योगको सङ्ख्या धेरै देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा नयाँ उद्योग दर्ता हुने सङ्ख्याको तुलनामा बन्द हुने उद्योग दुई सयले धेरै रहेको उद्योग तथा वाणिज्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका गुनासो सुन्ने अधिकारी कृष्णकुमारी श्रेष्ठका अनुसार गत आवमा जिल्लामा उद्योग प्रशासनतर्फ तीन सय ३१ वटा उद्योग दर्ता हुँदा तीन सय ८३ वटा उद्योग बन्द भएका छन् ।

त्यस्तै वाणिज्य प्रशासनतर्फ तीन सय ७७ वटा उद्योग दर्ता हुँदा पाँच सय २४ वटा व्यावसायिक फर्महरु बन्द भएका श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा गत आवमा सात सय आठ वटा उद्योग तथा व्यावसायिक फर्महरु खुलेकामा नौ सय आठ वटा उद्योग तथा फर्महरु बन्द भएका श्रेष्ठको भनाइ छ ।

गत आवमा जिल्लामा एक सय ४० वटा नयाँ कृषिमूलक उद्योग दर्ता हुँदा एक सय ९९ वटा बन्द भएका छन् । त्यस्तै, गत आवमा नयाँ दर्ता हुने उद्योगहरुमा एक सय १४ वटा सेवामूलक उद्योग, ६२ वटा उत्पादनमूलक उद्योग, १५ वटा पर्यटनमूलक उद्योग रहेका छन् ।

यस अवधिमा ७४ वटा उत्पादनमूलक उद्योग, ७४ वटा सेवामूलक उद्योग, ३६ वटा पर्यटनमूलक उद्योग बन्द भएका श्रेष्ठले जानकारी दिनुभयो ।