सरकारले आर्थिक वर्ष ०८२÷८३ को असार अन्तिमसम्म ‘साक्षर नेपाल’ घोषणा गर्ने कार्यक्रम सफल हुन सकेन । यसले विश्वजगत्मा नेपालको छवि धमिलिएको अनुमान गर्न कठिन छैन । साक्षरताको आधारमा विदेशी दातृ निकायले शिक्षामा आर्थिक सहयोग गर्ने गरेका छन् । यसअघि पनि साक्षरता अभियान सफल बनाउन दातृ निकायले सहयोग गरेका थिए ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पटक–पटक निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । फलस्वरुप गएको असार अन्तिमसम्म साक्षर नेपाल घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । योजनासहित कार्यक्रम सार्वजनिक पनि गरेको थियो । हिजो ६० औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस हो । यसै दिन नेपाल साक्षर घोषणा गर्ने लक्ष्य थियो तर हुन सकेन । यसले गर्दा मुलुकको शिक्षाको अवस्थाबारे विश्वमा राम्रो सन्देश जान नसकेको देखिन्छ ।







