जनकपुरबाट अपहरण गरेर भारतमा दुई युवकको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । नेपालमा दुईजना र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा नगरपालिका–२ घर भएका २४ वर्षीय किसनकुमार पण्डित र २४ वर्षीय मुकेश पासवान छन् । ३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।पुष २७ मा जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका २० वर्षीय रोहित साह र उपमहानगर–१३ घर भएका २२ वर्षीय विष्णु शाह हराएका थिए । पुष २९ मा भारतबाट अपहरणकारीले फोन गरेर १० लाख रुपैयाँ फिरौंती मागेका थिए । बार्गेनिङ गर्दै अपहरणकारीले ५० लाखसम्म फिरौंती मागेका धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।
प्राविधिक अनुसन्धानबाट सिसौटीया नाका नजिकै एउटा घरको कम्पाउण्डमा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोष्टर्मटम रिपोर्ट आएको छैन् । प्रहरीले मृतकहरुको शव आइतबार नै नेपाल ल्याउने प्रयास गरिरहेको छ ।








