काठमाण्डाैँ,

स्ववियु निर्वाचनको विषयलाई लिएर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी भएको छ।अगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर शुक्रबार विवाद उत्पन्न भएपछि क्याम्पसमा केही विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको समेत नामावली प्रकाशित गरेको आरोप लगाउँदै विद्यार्थीहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो।क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामविनय प्रसाद यादवले विद्यार्थीको नामावलीमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले उनको राजीनामा माग गरेका थिए। सोही क्रममा विवाद बढेको थियो।

यस्तै विवाद बढ्दै जाँदा केही विधार्थीले आगजनी गरिदिएका हुन्। प्रहरीले क्याम्पसमा आगजनी भएपछि तिन जना विधार्थी नेताहरूलाइ पक्राउ गरेकाे छ।

प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका नेता शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका नेता अभिषेक चौहानलाई पक्राउ गरेको हो।पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले क्याम्पसमा भएको विवादको क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

अगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। त्यसैको तयारीको लागि अहिले ठाकुरराम क्याम्स लागेको छ। क्याम्पसमा नामावलीको विषयलाई लिएर बिहीबारदेखि नै विवाद हुँदै आएको थियो। जसका कारण बिहीबार राति नै अन्तिम नामावली प्रकाशन गर्ने तयारी क्याम्पसले गरे पनि हालसम्म विवाद बढदै गएपछि अन्तिम नामावली प्रकाशन हुन सकेको छैन।