काठमाडाैँ,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले सरकार विदेशी वस्तु आयातमा केन्द्रित भएको तर स्वदेशी उत्पादनमा ध्यान नदिइरहेको आरोप लगाएका छन् ।
संसद्मा आइतबारदेखि जारी आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै सांसद शाहीले विदेशी वस्तुको व्यापार गरेर देश संवृद्ध हुन नसक्ने बताए।
‘विदेशी मोबाइल, टिभी, घडी र गाडी बेचेर देश धनी बन्न सक्दैन । यहाँको उत्पादन बढाएर निर्यात गर्ने पहुँचमा नेपाल पुर्याउनुपर्छ । तर, हामी स्वदेशी जडिबुटी, काठ, फर्निचर, खनिज, मदिरा केही पनि निर्यात गर्न नपाउने गरी ऐन बनाइरहेका छौँ । यस्तो स्थितिमा हामीले कसरी संवृद्धि हासिल गर्ने ? सांसद शाहीले प्रश्न गरे ।








