काठमाडाैं, २९ बैशाख

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री नै दोषी भएपनि कारवाही हुनुपर्ने बताएका छन् । यो प्रकरणको लहरो नेतृत्व पंक्तिसम्म पुगिसकेको भन्दै उनले कारवाही गर्न खुट्टा नकमाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीसम्म पुगेपनि कारवाही अगाडि बढाउनुपर्छ । अन्य देशमा राष्ट्रप्रमुख, प्रधानमन्त्री जेलमा छन् । हाम्रो देशमा प्रधानमन्त्रीले अपराध गरे भने उसलाई छुट दिने कुरा आउँदैन’ खनालले भने, ‘वर्तमान सरकारले कारवाही गर्न डराउनुपर्ने अवस्था छैन । ठीक छ, सरकार गिरोस, सरकार गिरे अर्को बन्छ । तसर्थ सरकार ढल्छ कि भन्ने डरले प्रधानमन्त्री वा गृहमन्त्री डराउनु हुँदैन । सत्य तथ्य पत्ता लगाएर अपराधीलाई जनताको सामु परिचित गराउनुपर्छ ।’