काठमाडाैं,
सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामिरिता शेर्पालाई बिहिबार काठमाडौंमा भव्य स्वागत गरिएको छ। कामिरितालाई शेर्पा समुदायलगायत शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्। यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८औँ पटक आरोह गर्ने कीर्तिमान कायम गरेका थिए।
काठमाडौं आए पनि कामिरिताले आफूले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताए।
उनले विदेशीलाई सफलरूपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिकरूपमा पनि फाइदा हुने जिकिर गरे।सगरमाथा क्षेत्रमा काम गर्ने आफूजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ।
कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ।