काठमाडौं,
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न संसद्को न्याय तथा मानवअधिकार समितिले उपसमिति बनाएको छ।
शुक्रवार सिंहदरबारमा बसेको बैठकले टीआरसी विधेयकमा छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहनुभएको समिति सभापति (ज्येष्ठ सदस्य) मंगलप्रसाद गुप्ताले बताउनुभयो ।
उहाँका अनुसार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालासँग छलफल गरी दफावार छलफलसमेत गरेर उपसमितिले काज प्रारम्भ गरेको तीन हप्ताभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।








