समाजवादी मोर्चा नेपालले राजावादीहरूको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल भएको र प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको उनले बताए । यस्तै, बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारेमा शनिबार नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने निर्णय पनि गरेको उनले बताए । उनकना अनुसार मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तर्क्रिया गर्नेछ ।
संसदवादी दल र संसद बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने बैठकले निर्णय गरेको विश्वकर्माले बताए । ‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ,’ उनले भने ।
बैठकले १५ चैतका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको छ ।