काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताए ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भङ्ग भएको जानकारी आएको उनले बताए । उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दाबी गरे । तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले बताए ।

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भङ्ग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे । घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भङ्ग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुनसक्ने आशङ्का व्यक्त गरे । आगामी चुनावका लागि पार्टीले सशक्त रूपमा तयारी गरिसकेको उनको भनाइ छ ।