काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।
अस्पतालका अनुसार उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, माघ ५ गते जनकपुरको एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि सन्चो नभई छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि उनलाई माघ १३ गते साँझ अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो।
लामिछानेको अवस्था सामान्य रहे पनि संक्रमण फैलिन नदिन चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, स्वास्थ्यमा पूर्ण सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनेछन्। अस्पतालले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।








