काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा गणतन्त्रको जग बसाल्ने ऐतिहासिक थलो रुकुम पूर्वबाट समाजवाद निर्माणको नयाँ सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रुकुम पूर्वलाई नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्रका रूपमा चित्रण गरे। चुनवाङ बैठकले नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र महिला, जनजाति, मधेसी तथा थारु लगायतका उत्पीडित समुदायलाई पहिचानसहितको अधिकार दिने निष्कर्ष निकालेको उनले स्मरण गरे।

प्रचण्डले रुकुम पूर्वको चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको भन्दै सोही जिल्लाको लवाङ बैठकले पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहसलाई उचाइमा पुर्‍याएको उल्लेख गरे। देश अहिले ‘जेन–जी’ आन्दोलनपछिको जटिल परिस्थितिबाट गुज्रिरहेको र राष्ट्र निकै ठूलो अप्ठ्यारोमा रहेको उनको भनाइ छ।

यस्तो अवस्थामा राष्ट्रलाई एकताबद्ध गर्न, कम्युनिष्ट आन्दोलनलाई नयाँ गति दिन र देशभर समाजवादको लहर सिर्जना गर्न रुकुम पूर्व नै सबैभन्दा उपयुक्त थलो भएकाले आफूले यसपटक सो क्षेत्र रोजेको उनले स्पष्ट पारे। रोल्पाबाट यसअघि नै निर्वाचन लडिसकेकाले यसपटक रुकुम पूर्वका जनतामाझ जान लागेको उनले बताए।

आफ्नो तेस्रो कार्यकालमा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी कानुनी मान्यता दिलाउन सफल भएको स्मरण गर्दै उनले यससम्बन्धी विधेयक बने पनि पूर्ण कार्यान्वयन हुन भने बाँकी रहेको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका प्रचण्डले रुकुम पूर्वबाटै फेरि एकपटक देशलाई नयाँ राजनीतिक दिशा दिने दाबी गरे।