काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् ।

शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच मतभेद नभएको बताए । पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको थापाको भनाइ थियो ।

धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् ।

‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु,’ थापाले भने, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बदलियर आएको पनि बताए ।

‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो,’ उनले भने, ‘यसपछि अरु पार्टी बदलिए- बलिएनन् थाहा भएन हामी बदलिएर, सोँच बदलेर आएका छौँ ।’