काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल नतिर्ने ८ वटा सहकारी संस्थाहरूलाई एक साताभित्र भाडा चुक्ता गर्न समय सीमा तोकेको छ । महानगरपालिकाले बिहीबार (माघ २२गते) सार्वजनिक सूचना प्रकाशित गर्दै भाडा तिर्न अल्टिमेटम दिएको हो ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा भनिएको छ, “सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति) कर्मचारी तथा संस्थाका सदस्यहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्रमा काठमाडौं महानगरपालिका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुहोला ।”
तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने उल्लेख छ ।
महानगरपालिकाका अनुसार उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने महानगरले जनाएको छ ।
“लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालकहरू फरार भएपछि घरधनीहरूबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फर्छ्योटको कारबाही गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर यस्तो प्रक्रिया अगाडि बढाएको हो,” महानगरपालिकाले प्रस्ट्याएको छ ।
तोकिएको समयभित्र सहकारीका पदाधिकारी वा कर्मचारी सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयानुसार महानगर आफैँले घरकोठा खाली गराउने चेतावनी दिएको छ ।
सहकारीविरुद्ध महानगरपालिकामा उजुरी
महानगरपालिकामा आउने सहकारीसम्बन्धी उजुरीमा बचत रकम फिर्ता नदिएको, सेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, विभागले पठाएको पत्रलाई प्रहरीले चासो नदिएको, सञ्चालकहरू भाग्न लागेकोले आफ्नो बचत जोखिममा परेको, समयमा साधारणसभा गरेर आफ्नो रकम सुरक्षाका विषयमा जानकारी नदिएको, कार्यालय बन्द हुने गरेको जस्ता विषय उल्लेख पाइन्छन् ।
सहकारी विभागमा दर्ता हुने उजुरीहरूमा सञ्चालक समितिका सदस्य, बचतकर्ता, ऋणी, घरधनी र कर्मचारीसँग सम्बन्धित छन् । हस्तान्तरण नभएको, नगरेको, गर्न नचाहेको, ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएको जस्ता समस्या सञ्चालकका समस्या रहेको महानगरपालिकाले जानकारी दिएको छ ।








