काठमाडौं । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ ले देशैभरको ध्यान तानेको छ । दुई भावी प्रधानमन्त्रीका उमेदवार मैदानमा उत्रिएपछि त्यहाँको माहोल तातिएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा छन् ।

ओली आठौँपटक सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिँदा बालेन पहिलोपटक संघीय निर्वाचनमा होमिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेको थियो ।

०४८ सालदेखि झापा–५ बाटै चुनाव लड्दै आएका ओली चारपटक प्रधानमन्त्रीसमेत बनिसकेका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उमेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका ओलीले अन्य चुनावमा हार व्यहोर्नुपरेको छैन ।

निर्वाचनपछि एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका छन् । यसपटक ओलीलाई रोक्ने दाउ बालेनको छ ।

दुवै नेताले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् । अन्य क्षेत्रका उमेदवारहरूको जम्काभेट शुभकामना आदानप्रदान भइरहँदा बालेन र ओलीको घरदैलो अभियान भिन्नै देखिएको छ ।

केहीदिनपहिले पार्टीको ‘वाचापत्र’ तयार पार्नका लागि ओली काठमाडौंमा व्यस्त थिए । सोही समयमा बालेन झापा ५ मा घरदैलो कार्यक्रम गरिरहेका थिए ।

यतिबेला ठीक उल्टो अवस्था छ । बालेन काठमाडौं आइपुग्दा ओली भने झापाकेन्द्रित बनेका छन् ।

माघ ६ गते उमेदवारी दर्ता गर्ने क्रममा झापा पुगेका दुवै उमेदवार फरक–फरक समयमा निर्वाचन कार्यालय पुगेका थिए । सोही दिन कार्यकर्ताबीच जम्काभेट हुँदा केही समय तनाव भएको थियो ।

बालेनले माघ ७ गतेदेखि नै झापामा स्थानीयसँग भेटघाट सुरु गर्दै पूर्वी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा यात्रा गरेका थिए ।

त्यसपछि काठमाडौं फर्किएका बालेनले आफ्नी श्रीमती सविना काफ्लेलाई घरदैलो अभियानमा खटाएर सुदूरपश्चिमका सबैजसो जिल्ला भ्रमण गरेका थिए ।

सुदूरपश्चिम यात्रापछि केही दिन काठमाडौं बसेर पुनः झापा पुगेका थिए । बालेनले माघ २१ गते कमल गाउँपालिकाका सकुम्बासीसँग भेटघाट गरेका थिए । ।

घरदैलो अभियानपछि बालेनले सुनसरी, मोरङ, उदयपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लामा पुगेर अभिवादन गर्ने र घण्टी बजाउने कार्यक्रम सकाएका थिए ।

अहिले ओली झापाकेन्द्रित हुँदा बालेन काठमाडौं आइपुगेका छन् । अबको चुनावी तालिकाअनुसार, विभिन्न ठाउँमा पुग्ने कार्यक्रम रहेको बालेनको चुनावी प्रचार टोलीले बताएको छ ।

“भ्याएसम्म बालेनजी देशभरका सबैजसो ठाउँमा पुग्ने कार्यक्रम छ । झापामा यतिबेला उहाँको टिम र पत्नी सविना काफ्ले हुनुहुन्छ । घरदैलो कार्यक्रम जारी छ,” प्रचार टोलीका एक सदस्यले भने ।

बालेनको टिमले दमकस्थित रास्वपा कार्यकर्ताको घरबाट चुनावी अभियान चलाइरहेको छ ।

यता, एमाले अध्यक्ष ओली पूर्ण रूपमा झापाकेन्द्रित बन्दै घरदैलो अभियानलाई तीव्रता दिएका छन् । ओलीले पनि कमल गाउँपालिबाटै आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

एमाले नेता देबेन्द्र दाहालले सेड्युलअनुसार, घरदैलोमा खटिएको जानकारी दिए ।

“अन्य कुनै पनि उमेदवारसँग आलोपालो गर्नेभन्दा पनि आफ्नो तालिकाअनुसार, जनताको घरदैलोमा पुगिरहेका छौँ । जनताका समस्या, गुनासो सुन्ने, भेटघाट गर्ने काम भइरहेको छ,” दाहालले बाह्रखरीसित भने ।

उनका अनुसार, ओली अझै एकसाता झापामै रहने र त्यसपछि मात्रै अन्य कार्यक्रममा सहभागी हुने चुनावी तालिका छ ।

“अध्यक्षज्यू अझै एकसातासम्म घरदैलोमै बिताउनुहुन्छ । त्यसपछि फागुन ४ गतेदेखि मात्रै अन्य कार्यक्रममा सहभागी हुने तालिका छ,” उनले भने ।

यसपटक झापा–५ मा युवामाझ लोकप्रियता कमाएका बालेन र ओलीबीच हुने प्रतिस्पर्धालाई प्रतिष्ठासँग पनि जोडेर हेरिएको छ ।

०७९ को निर्वाचन राप्रपासँग तालमेल गरेका ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी गठबन्धनका उमेदवार कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए ।

त्यतिबेला कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । त्यस्तै, रास्वपाका उमेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।

यसपटक नेपाली कांग्रेसबाट मन्दरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रन्जित तामाङले सो क्षेत्रबाट उमेदवार उठेका छन् । यस क्षेत्रमा २४ जना उमेदवार चुनावी मैदानमा छन् ।

कुल एक लाख ६३ हजार ३७९ जना मतदाता रहेका झापा ५ मा कमल गाउँपालिकाअन्तर्गत वडा नम्बर १, २, ३, ४, ५, ६, ७ गौरादह नगरपालिका वडा नम्बर १,२, ३, ४, ५, ६, ७, ८ गौरीगन्ज गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ दमक नगरपालिका वडा नम्बर १,२, ३, ४, ५, ६, ७, ८, ९, १० पर्छन् ।