काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन् । उनको अवस्था बुझ्न सर्वोच्च अदालतले तहरिक–ए–इन्साफ (पीटीआई)का वकिल सलमान सफदरलाई एमिकस क्युरी नियुक्त गरेको छ ।
यो आदेशपछि सलमान सफदरले मंगलबार रावलपिण्डीको अदियाला जेलमा गएर इमरान खानसँग भेट गरका छन् ।
तीन घण्टा लामो भेटपाकिस्तानको पत्रिका ‘डन’का अनुसार, भेट करिब तीन घण्टासम्म चलेको थियो । जेलबाट बाहिर निस्किएपछि सफदरले मिडियासँग इमरान खानको अवस्था ठीक भएको र स्वस्थ देखिएका बताए । उनले भने, “म भेटघाटबारे अहिले धेरै विवरण दिन सक्दिनँ किनकि मलाई मेरो रिपोर्ट सिधै अदालतमा पेस गर्नुपर्छ ।”
अदालतले उनलाई बुधबारसम्म इमरानको बसाइको अवस्थाबारे लिखित रिपोर्ट पेस गर्न निर्देशन दिएको छ ।
अदालतमा रिपोर्ट पेस गर्नुपर्नेयसअघि, प्रधान न्यायाधीश याह्या अफरिदी र न्यायाधीश शाहिद बिलाल हसनको बेन्चले पीटीआई नेता लतिफ खोसाको त्यो निवेदन खारेज गरेको थियो, जसमा उनले इमरानसँग तुरुन्त भेट्ने माग गरेका थिए ।
बेन्चले अर्को पक्षलाई नसुनी यस्तो आदेश दिन नसकिने बताएको थियो । त्यसपछि अदालतले सरकारलाई सूचना जारी गरेको थियो ।
पुनः सुरु भएको सुनुवाइमा प्रधान न्यायाधीश अफरिदीले सलमान सफदरलाई एमिकस क्युरी नियुक्त गर्दै रिपोर्ट फाइल गर्ने निर्देश दिए ।
सुनुवाइका क्रममा महान्याधिवक्ता मन्सुर उस्मान अवानले अगस्ट २०२३ मा इमरान खानको स्वास्थ्य र जेलको अवस्थाबारे एक रिपोर्ट दिइएको बताएका थिए । तर, प्रधान न्यायाधीशले भने, “त्यो रिपोर्ट अटक जेलसँग सम्बन्धित थियो । अब इमरान अदियाला जेलमा भएकाले त्यहाँको वर्तमान अवस्थाको नयाँ रिपोर्ट आवश्यक छ ।”
अदालतले सलमान सफदरलाई इमरानसँग पूर्ण रूपमा भेट्ने अनुमति दिइनुपर्ने र उनीहरूलाई जेलबाहिर कुर्न नपर्ने अवस्था बनाउनुपर्ने स्पष्ट पारेको छ ।
अदालतले यो मुद्दामा अब १२ फेब्रुअरीमा अर्को सुनुवाइ गर्ने भएको छ ।
पीटीआईले लगाएको आरोपपीटीआईले जेलमा इमरान खानसँग खराब व्यवहार भइरहेको आरोप लगाएको थियो । पार्टीको भनाइमा अस्पतालमा इमरानको कुनै गोप्य मेडिकल प्रक्रिया गरिएको तर परिवारलाई यसको जानकारी नदिइएको बताइएको छ ।
पीटीआईले इमरानलाई आफ्ना चिकित्सक, वकिल र परिवारसँग भेट्ने अनुमति दिन माग गरेको छ ।








