काठमाडौं – स्वासप्रश्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ।

एक कार्यक्रमबीच लतिलपुर महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष गणेश केसीले उक्त सेन्टरको उद्घाटन गरेका छन्। उद्घाटन गर्दै उनले विशेषज्ञ क्लिनिकले वडावासीको स्वास्थ्यका लागि सहज हुने बताए।

नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसुदन घिमिरेले बढ्दो क्रममा रहेको श्वासप्रश्वासका बिरामीहरुलाई सहज रुपमा गुणस्तरीय सेवा उपलव्ध गराउने गरी क्लिनिक खोलिएको बताए। उनले अहिलेसम्म अन्य रोगका विशेषज्ञ सेवाका लागि क्लिनिक तथा अस्पतालहरु खुले पनि छाती रोगका लागि काठमाडौँ उपत्यकामै खुलेको पहिलो क्लिनिक भएको बताए।

कार्यक्रममा छातीरोग विशेषज्ञ डा राजु पंगेनीले विभिन्न रोगका विशेषज्ञ क्लिनिक भए जस्तै यसपटक श्वासप्रश्वास तथा छाती रोग सम्बन्धी क्लिनिक सञ्चालनमा आएको बताए। नेपालमा स्वासप्रश्वास सम्बन्धी रोग बढ्दै गएको भन्दै उनले पछिल्लो समय दम, खोकी, सिओपीडी लगायतका समस्या बढीरहेको बताए।

सेन्टरमा वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श दिनेछन्। अध्यक्ष घिमिरेले नेशनल चेष्ट सेन्टरले विशेषज्ञ सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको बताए। उनले सेन्टरमा वरिष्ठ छाती तथा स्वासप्रश्वास रोग विशेषज्ञ चिकित्सकहरूको टोलीले नियमित परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गर्ने बताए।

एलर्जी तथा दमको परीक्षण सम्बन्धी सेवा, सिओपीडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन स्वासप्रश्वास रोगको समग्र उपचार, कोभिड पश्चात फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिक स्तरको प्रयोगशाला सुविधा लगायत सेवा एकै स्थानबाट प्राप्त सकिने उनले बताए।

नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सेन्टरको योजना छ।