पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमै फर्किएका छन् । उनले नेकपा एमाले परित्याग गरी मंगलबार सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
कार्यक्रममा जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले उनलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। पार्टी प्रवेशपछि देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता जनाउँदै विशेष महाधिवेशनबाट अघि सारिएको नवीन नीति आत्मसात् गरेको बताए।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले विभिन्न चरणमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेस र एमालेमा राजनीति गरेका थिए। संविधानसभा सदस्यसमेत रहेका उनले गत माघ १९ मा एमाले परित्याग गरेका थिए भने त्यसअघि २०८१ असारमा कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए।








