जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन थापाले अबको नेपालमा ठूलालाई चैन र सानालाई ऐन भन्ने अध्याय समाप्त भएको बताएका छन्।
जनकपुरमा प्रतिज्ञासभाको सम्बोधनको सुरुवात मैथिली भाषामा गरेका थापाले अब सबैका लागि समान कानुन र अवसर हुनुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
थापाले भने, ‘जतै अपन माटि ततै अपन पार्टी, हम अहाँसभके बात बुझैछि किछ किछ। धाराप्रवाह बाज नै सकैछी। लेकिन हम अहाँसभसे प्रतिज्ञा करैछी अहि मन्च सँ जल्दिए अहाँके भाषा, अहाँके लयमे बात करब। ( जहाँ आफ्नो माटो त्यहीँ आफ्नो पार्टी, म तपाईहरुको कुरा र भाषा बुझ्छु तर, इमान्दारीका साथ भन्नु पर्दा धाराप्रवाह बोल्न सक्दीन्। तर, तपाईहरुसँग प्रतिज्ञा गर्छु यहि मञ्चबाट छिटै तपाईको भाषा र लयमा कुरा गर्नेछु। )’
थापाले घोषणापत्रमा १० वटा प्रतिज्ञा गरेको उल्लेख गरे। उनले भने, ‘राजा जनकले कुनै बेला यहीँ ठाउँमा एउटा घोषणा गर्नुभयो। जसले शिव धनुष उठाउन सक्छ त्यससँग मात्रै सिता माईको विवाह हुन सक्छ। जनकलाई सबैले नियम बदल्न आग्रह गरे। तर, जनकले भने बरु सीता अविवाहित बस्छिन् तर, यो नियम बद्लिँदैनन्। पछि राम आउनु भयो र धनुष उठ्यो विवाह भयो। त्यो रामको जित थिएन त्यो राजा जनकको प्रतिज्ञाको जित थियो।’उनले भने,‘यो जनकको भूमिमा म कुनै बाचा वा घोषणा गर्न आएको होइन। नेपाली कांग्रेसको तर्फबाट प्रतिज्ञा गर्न आएको हु। यस प्रतिज्ञापत्रमा जे लेखिएको छ त्यसको पालना गाउँतहको एक एक पदाधिकारीले यसको पालना गर्नेछ। यो घोषणापत्रमा हामीले १० वटा प्रतिज्ञा गरेका छौं।’
उनले प्रतिज्ञा यो पाँच वर्षभित्रै सबै कुरा पुरा हुन्छ भन्ने नभएको बताए। उनले भने,‘योभन्दा अगाडि कांग्रेसको सबै पाइला यहि लक्ष्यहरू पूरा गर्नका लागि हुन्छ भन्ने प्रतिज्ञा गर्दछौं। हामीले गरेका प्रतिज्ञा पुरा नहुँदा कसैले प्रश्न र आलोचना गर्न पाउँछ कि पाउँदैन भन्दा पाउँछ। अब प्रश्न गर्दा कुनै युवक गोली खाएर मर्नु पर्दैन भन्ने हाम्रो प्रतिज्ञा छ। ति तन्नेरीहरुको भावनालाई हामी पूर्णरुपमा समर्थन गर्दछौं। जेनजीले प्रश्न गरेको जागिर खोई, दुख गरेर पढेर जागिर खाए तर, खल्ती खाली छ। उसले सोधेको यति मात्रै हो। यो सबै प्रश्नको उत्तर लिएर हामी आज आएका छौं। कानुन ठूलाका लागि चैन सानाका लागि ऐन भन्ने अध्याय अब समाप्त भयो।’
हिजो केही पनि भएको थिएन अब सबै राम्रो गर्छौ भनेर होइन् हिजो थुप्रै काम भयो तर अब थप गर्न बाँकी रहेको उनले बताए। उनले भने,‘यो घोषणापत्र लेख्नका लागि लेखेको होइन्। यसको एउटा एउटा अक्षरलाई हामी पालना गर्छौ। यो २७ वटा क्षेत्रमा भएका कामलाई कसरी परिणाम मुखी बनाउने हाम्रो प्रतिबद्धता छ।’








