सुनसरी । धरानमा लागु औषधसहित दुई र झापामा एकजना पक्राउ परेका छन् । उपमहानगरको वडा नं. ८, तीनकुनेबाट ५ सय ९० ट्याब्लेट ट्रामाडोल र त्यति नै संख्यामा डिकोलिकसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैँचा नगरपालिका-४ बस्ने २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कँडेल छन् । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले प्र.१.०२.०५५ प ११३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ किरात पार्कबाट १ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित अर्का व्यक्ति पक्राउ परेका छन् । सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सोनम शेर्पालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले प्र.१.०१.००२ ह ६१७ नम्बरको अटोसहित पक्राउ गरेको छ ।