काठमाडौँ। अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ अपरिहार्य रहेको बताएका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

बैठकमा उनले कार्यादेश कार्यान्वयन प्रक्रियाप्रति अल्पविकसित मुलुक समूहको पूर्ण समर्थन रहेको पुन: दोहोर्याउँदै संयुक्त राष्ट्रसंघभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

राजदूत थापाले पर्याप्त स्रोतसाधन सुनिश्चित गर्न तथा कार्यादेशका प्रभावकारी कार्यान्वयन गर्न तथा अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य उपलब्धि हासिल गर्न आवश्यक भएको बताए ।

उनले अल्पविकसित मुलुक, विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधिको कार्यालयले दोहा कार्ययोजना कार्यान्वयनलाई अघि बढाउन तथा विश्वका सबैभन्दा कमजोर राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गरेको उक्त नियोगले जनाएको छ ।