काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच दुई दिन निरन्तर राजनीतिक छलफल भइरहेको स्रोतहरूले बताएका छन् ।
रास्वपा निकट स्रोतका अनुसार शनिबार र आइतबार दुवै नेताबीच लामो समयसम्म समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी र चुस्त बनाउने विषय तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका उपायहरू प्रमुख एजेन्डाका रूपमा उठाइएको बताइएको छ ।
यद्यपि मन्त्रिपरिषद् पुनर्गठन गर्न रविले गरेको प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार बालेनले मन्त्रिपरिषद् पुनर्गठन अस्वीबार गरेसँगै रविलाई यही सेटले काम गर्ने जवाफ दिएका थिए ।
रास्वपाका एक वरिष्ठ नेताका अनुसार सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने विकल्पबारे समेत छलफल भएको छ ।
साथै, अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्याको दिगो समाधानका लागि दीर्घकालीन नीति र कार्ययोजनामाथि समेत दुवै नेताबीच गम्भीर विचार–विमर्श भएको स्रोतको दाबी छ ।
यद्यपि, प्रधानमन्त्रीको सचिवालय वा रास्वपाले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।








