वीरगञ्ज : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् ।
२०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका रिजालले चार पटक जीत र चार पटक हार व्यहोरेका छन्। २०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसदमा निर्वाचित भएका रिजालले २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा भएको निर्वाचनमा भने पराजय व्यहोरेका थिए ।
फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसले व्यहोरेको पराजयको समीक्षा गर्न शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आफूले संसदीय निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरे । उनले चुनाव नलडे पनि क्षेत्रका जनताको सेवामा भने सक्रिय रहिरहने बताए ।
उनले भने, ‘आजै म घोषणा गर्छु अब म चुनाव लड्दिनँ । युवा पुस्तालाई साथ र समर्थन रहन्छ । तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु ।’ पर्सा क्षेत्र नम्बर–४ को विकास र समृद्धिका साथै यहाँका जनताको समस्या सम्बोधन गराउनका लागि आफ्नो तर्फबाट हुन सक्ने हरेक प्रयास आफूले गरिरहने प्रतिबद्धता पनि उनले जनाए ।
फरक प्रसंगमा पूर्वमन्त्री रिजालले फागुन २१ को निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताहरुलाई आभार समेत दिए । परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेसका कार्यकर्ता र समर्थकहरुप्रति आफ्नो कुनै गुनासो नरहेको भन्दै उनले अब पुनः आफ्नै पार्टी कांग्रेसमा फर्किन अपिल पनि गरे । जनता जनार्दन भएकाले जनमतको कदर आफूले गर्ने भन्दै उनले भने, ‘जनताको दुःख–सुखमा उभिने पार्टी भनेकै कांग्रेस हो । कांग्रेसलाई भरोसा गरेर घर फर्किन म आग्रह गर्छु ।’
रिजालले कांग्रेसबाट पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भने, ‘मालिक बन्ने कोशिस नगर्नु होला, जनताको सेवक बनेर काम गर्नु होला । म तपाइहरुकै साथमा छु र रहन्छु ।’ कांग्रेस क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा भएको उक्त भेलामा मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतको पनि सहभागिता थियो ।







