बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए।

ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु१च ३७४० नम्बरको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु८४प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए।