काठमाडौं । अमेरिका र इरानबीच तनाव अन्त्य गर्ने प्रयास जारी छ । यसै हप्ता पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानका वरिष्ठ अधिकारीहरूबीच बैठक हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रमा हुने आक्रमण रोक्ने घोषणा गरेपछि कूटनीतिक गतिविधिमा तीव्रता आएको रोयटर्सले उल्लेख गरेको छ । ट्रम्पले इरानसँगको सकारात्मक कुराकानीका कारण पाँच दिनका निम्ति आक्रमण रोकिएको बताएका थिए ।

पाकिस्तान, टर्की र इजिप्टले पर्दा पछाडि बसेर दुवै देशलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेका रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एक वरिष्ठ इजरायली अधिकारीले इस्लामाबादमा बैठक आयोजनाका निम्ति सम्पर्क भइरहेको र त्यसमा अमेरिका तथा इरानका शीर्ष प्रतिनिधि सहभागी हुन सक्ने बताएका छन् ।

एक पाकिस्तानी अधिकारी र अर्को एक स्रोतले पनि युद्ध अन्त्य गर्न यसै हप्ता इस्लामाबादमा वार्ता हुन सक्ने बताएका छन् । पाकिस्तानी अधिकारीका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सका साथै स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले इस्लामाबादमा इरानी अधिकारीसँग भेट्ने अपेक्षा गरिएको छ ।

हालैका दिनमा पाकिस्तान, टर्की र इजिप्टका विदेशमन्त्रीहरूले छुट्टाछुट्टै बैठकमा ह्वाइट हाउसका दूत विट्कफ र इरानका विदेशमन्त्री अब्बास अराघचीसँग छलफल गरेका छन् ।

इजरायली सञ्चारमाध्यमका अनुसार, विट्कफ र कुश्नरले इरानको संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफसँग पनि सम्पर्क गरेका छन्, जो यो युद्धका क्रममा प्रमुख निर्णयकर्ताका रूपमा उभिएका छन् । एक स्रोतले युद्ध अन्त्य र बाँकी मुद्दाको समाधान निकाल्ने उद्देश्यसहित मध्यस्थता जारी रहेको र प्रगति भइरहेको जनाएको छ ।

यसैबीच, ट्रम्पले वार्ता निकै सशक्त रहेको र धेरै महत्त्वपूर्ण बुँदामा सहमति भइसकेको बताएका छन् । उनले कूटनीतिका निम्ति पाँच दिनसम्म सैन्य कारबाही रोकिएको जानकारी दिए ।

ट्रम्पले इरानले आफैँ वार्ताका निम्ति सम्पर्क गरेको बताएका थिए । तर, इरानले यो भनाइ खारेज गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले विगत २४ दिनमा अमेरिकासँग कुनै वार्ता नभएको बताएका छन् ।