सुर्खेत । कर्णाली प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि तयार पारिएको १० वर्षे शिक्षा योजना अन्तिम चरणमा पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२/०८३ देखि २०९१/९२ सम्मका लागि योजना निर्माण गर्न लागेको हो ।

मन्त्रालयद्वारा गठन गरिएको कार्यदलले अन्तिम मस्यौदा तयार गरी कार्यान्वयनका लागि पेस गर्ने निर्णय गरेको छ । “समृद्ध प्रदेश र सुखी कर्णालीवासीको प्रमुख आधार : गुणस्तरीय शिक्षाका लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार” भन्ने दूरदृष्टिसहित योजना तयार गरिएको शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए ।

खड्काका अनुसार, योजनाको मुख्य ध्येय ज्ञान, सीप र सकारात्मक सोचयुक्त दक्ष तथा प्रतिबद्ध जनशक्ति उत्पादन गर्नु रहेको बताए । यसबाट कर्णालीलाई अति कम विकसित प्रदेशबाट विकासोन्मुख प्रदेशको रूपमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ ।

योजनामा शिक्षालाई मौलिक हकका रूपमा कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ । उच्च शिक्षामार्फत सक्षम नेतृत्व विकास गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गरी सीपयुक्त जनशक्ति तयार गर्ने तथा सबै नागरिकका लागि साक्षरता, निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइ सुनिश्चित गर्ने उद्देश्य समेटिएको छ ।

त्यसैगरी, शैक्षिक संस्थालाई भय, विभेद र दुर्व्यवहारमुक्त बनाउँदै सुरक्षित, सिकाइमैत्री तथा प्रविधिमैत्री वातावरण निर्माण गर्ने लक्ष्य पनि राखिएको छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले योजनाले संवैधानिक मौलिक हक कार्यान्वयन र गुणस्तरीय शिक्षाको सुनिश्चिततामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले योजना कार्यान्वयनका लागि आगामी दिनमा बजेटलाई प्राथमिकता दिइने जानकारी दिए ।